दूध, मासु र अण्डाको उत्पादन माग भन्दा बढी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दूध, मासु र अण्डाको उत्पादन माग भन्दा बढी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँमा दूध, मासु र अण्डाको उत्पादन माग भन्दा बढी भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएपछि पशुपालन गर्नेको सङ्ख्या बढेको हो ।

    आर्थिक वर्ष ०७७÷७८ भन्दा ०७८÷७९ मा दूध, अण्डा, मासु र माछाको उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए। डा. श्रेष्ठका अनुसार जिल्लामा माग भन्दा बढी मात्रामा दूध, मासु र अण्डाको उत्पादन भइरहेको छ । यसले तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको डा. श्रेष्ठले बताए । “तनहुँ जिल्लाका लागि जति माग हो, त्यो भन्दा बढी उत्पादन भएकाले तनहुँ आत्मनिर्भर बन्न सफल भएको हो,” उनले भने ।

    आर्थिक वर्ष ०७८÷७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै अण्डा दुई करोड ७० लाख ६० हजार गोटा उत्पादन भएको छ । दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको छ ।

    प्रति व्यक्ति प्रति वर्ष दूध ८४.९४ लिटर आवश्यक पर्ने भएकामा जिल्लामा ११८.५४ लिटर, मासु १७.८३ केजी आवश्यक पर्नेमा जिल्लामा १४.४१ केजी, अण्डा ५१.१८ गोटा आवश्यक पर्नेमा ८२.५९ गोटा उपलब्ध भइरहेको छ ।

    आर्थिक वर्ष ०७७÷७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिक टन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।

    जिल्लामा पशुपंक्षीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७८÷७९ को तथ्याङ्क अनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङगुरको सङ्ख्या ४८ हजार तीन सय ११ छ ।

    आर्थिक वर्ष ०७८÷७८ मा गाईको सङ्ख्या ५१ हजार सात सय १७, भैसीको सङ्ख्या ५६ हजार चार सय ७२, भेडाको सङ्ख्या सात सय १४, बाख्राको सङ्ख्या ३८ हजार सात सय ३७, कुखुराको सङ्ख्या ९८ हजार तीन सय ९५, हाँसको सङ्ख्या १२ हजार एक सय ८३ र बङगुरको सङ्ख्या ४७ हजार दुई सय ७२ थियो ।

    जिल्लामा व्यावसायिक पशुपंक्षी फर्म दर्ता बढेको छ । आर्थिक वर्ष ०७८÷७९ मा ९२ पशुपंक्षी फार्म बढेको डा. श्रेष्ठले जानकारी दिनुभयो । यसअघि जिल्लामा एक हजार ११ व्यावसायिक पशुपंक्षी फार्म थिए । यहाँ दुई सय १९ गाई, ८६ भैसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपंक्षी फार्म सञ्चालनमा छन् ।