दमाैली । म्याग्दे गाउँपालिकाले निःशुल्क रुपमा घर नम्बर प्लेट टाँस्न सुरु गरेको छ । गाउँपालिकालाई डिजिटाइलेजशन गर्ने उद्देश्यसहित प्रत्येक जनताका घरमा नम्बर टाँस गरिनेछ ।
म्याग्दे गाउँपालिका–१ बाट घर नम्बर प्लेट टाँस गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । स्थानीय तह निर्वाचनबाट निर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पहिलो निर्णयका रुपमा निःशुल्क रुपमा घर नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका थिए । घरनक्सा पास भएका घरमा एकपटकका लागि निःशुल्क नम्बर प्लेट वितरण गरिने जनाइएको छ ।
सोही बमोजिम अब प्रत्येक नागरिकका घरमा नम्बर प्लेट टाँस गरिनेछ । गाउँपालिकाका सबै वडाका करिब तीन हजार दुई सय भन्दा बढी घरमा नम्बर प्लेट टाँस गरिनेछ ।
घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पनालाई सहयोग पुग्ने गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए ।