दमाैली । तनहुँ क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका तर्फबाट संयुक्त उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आफूहरु जनताको सेवक भएर काम गर्र्न बताउँदै प्रतिबद्धतापत्र पूरा गर्ने बताए। अबको पाँच वर्ष विकास निर्माणका योजनाहरु पूरा गर्ने बताउँदै भण्डारीले साझा एजेण्डाका साथ समृद्धि हासिल गर्ने उल्लेख गरे।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको शैक्षिक एवम् भौतिक समस्याहरूको समाधान गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने, व्यावहारिक शिक्षा प्रदान गर्ने र प्राविधिक शिक्षाको विस्तारका साथै सुविधा सम्पन्न पुस्तकालयहरुको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सरकारी एवं सामुदायिक विद्यालय र क्याम्पसहरूमा विद्यार्थी अनुपातमा दरबन्दी उपलब्ध गराउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न भौतिक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवातर्फ सबै पालिकाहरूमा सुत्केरी हुने महिलालाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स उपलब्ध गराउने, जिपी कोइराला श्वासप्रश्वास अस्पतालबाट जनताले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार प्राप्त गर्नका लागि आधुनिक चिकित्सा प्रणालीभित्र पर्ने सबै संयन्त्रको व्यवस्था गरिनुका साथै शिक्षण अस्पतालका रूपमा विकास गर्ने, प्रदेश सरकारले बिरामीहरूका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था मिलाउने, निर्वाचन क्षेत्रभित्र सर्वसुलभ र सबैलाई पायक पर्ने गरी स्तरीय आँखा अस्पताल बनाइने उल्लेख गरिएको छ ।
खानेपानीतर्फ यस क्षेत्रभित्रका पालिकामा मुलहरूको संरक्षण, एक घर एक धारा कार्यक्रम लागु गरी प्रभावकारी वितरणमा जोड दिने, हरेक घरका धारामा स्वच्छ खानेपानीको व्यवस्थाका लागि काम गर्ने, पालिका, जिल्ला, प्रदेश स्तरीय खानेपानीका सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी खानेपानी आयोजनाहरू सन्चालन र अधुरा योजनाहरू समयमै सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
कृषि तथा सिंचाईतर्फ कृषि बीमा कार्यक्रमलाई व्यापक रूपमा लागु गर्ने, कृषि उत्पादनका लागि सहुलियतपूर्ण कर्जा एवम् कृषि औजारको व्यवस्था गर्ने, कृषिमा उत्पादित फलफूल, तरकारी, दुध जस्ता वस्तुहरूको बिक्री गर्ने हाट बजारको व्यवस्थाका लागि समन्वय गर्ने, बाँझो रहेको जमिनमा कृषि उत्पादनका लागि विशेष योजना सहित सहयोग उपलब्ध गराउने, कृषिमा आधुनिकिकरण तथा उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
विद्युततर्फ विद्युतको खपत बढाउन र ग्याँस जस्तो आयातित वस्तुलाई निरुत्साहित गर्नका लागि हरेक घरलाई पालिका मार्फत् विद्युतीइ चुल्हो वितरण व्यवस्था मिलाउने, बस्ती भएका ठाउँमा नाङ्गो तार हटाइ कालो तारको व्यवस्था गर्ने, यस क्षेत्रमा २४ घण्टा विद्युत आपूर्ति गर्ने प्रणालीको विकास गर्न गाउँमा थ्रिफेस लाइनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
सडकतर्फ यस क्षेत्रभित्रका सडकहरूको स्तरोन्नति गरी पालिकाहरूमा नगर बस सञ्चालन गर्ने, पर्यटकीय गाउँहरूमा यातायात मार्ग चौडा र पिच गरी तराईसँग जोडने द्रुत मार्गको विकास गर्ने, सडकमा खाल्डाहरू पर्नासाथ त्यसको मर्मत अर्थात् खाल्टा पुर्नका लागि सडक एम्बुलेन्सको प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षातर्फ द्वन्द्वपीडित, अल्पसङ्ख्यक, अपाङ्ग र बिपन्न दलितलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउने, अपाङ्गता भएका बालबालिका एवं व्यक्तिहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने, ५० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि एकल महिला सरह भत्ता सहयोग उपलब्ध गराउने, जेष्ठ नागरिका लागि दिवा अध्यात्मिक केन्द्रहरू बनाउने साथै धार्मिक अल्पसङ्ख्यकहरुका लागि समेत उचित प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।
खेलकुदतर्फ स्वस्थ र आत्मनिर्भर युवा, देश विकासमा टेवा भन्ने नारालाई सार्थक बनाउन जिमखाना र योग अभ्यासको सुविधा साथै एक वडा एक खेल मैदान कार्यक्रमलाई सहयोग पु¥याउने उल्लेख छ ।