


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा रड प्रहार गरी एकको हत्या भएको छ । दुलेगौडा बजारमा रहेको रिमाल अटो केयरमा काम गर्ने देवघाट गाउँपालिका–२ क्वादी स्थायी घर भई दुलेगौडा बस्ने २४ वर्षीय वीरम आलेको रड प्रहार गरी हत्या भएको हो ।
सोही अटो केयरमा काम गरिरहेको अवस्थामा सर्लाहीको गौरीशङ्कर नगरपालिका–५ बगरवा स्थायी घर भई हाल दुलेगौडा बस्ने २५ वर्षीय नवीन कुमार चौधरीले रड प्रहार गरी आलेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
शुक्रबार दिउँसो १२ः३० बजेको समयमा काम गरिरहेको अवस्थामा चौधरीले पछाडिबाट रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते भएका आलेलाई तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचारपश्चात् मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । उनको अस्पतालमा उपचारका क्रममा दिउँसो १ः२५ बजे मृत्यु भएको प्रनाउ खड्काले बताए ।
हत्यामा संलग्न चौधरीलाई नियन्त्रणमा लिइएको छ । “दुवै जना एकै ठाउँमा काम गर्ने हुन्, के कारणले हत्या गरियो भन्ने बारेमा हामी अनुसन्धान गदैर्छौ,” प्रनाउ खड्काले भने ।