भट्टराईको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भट्टराईको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७९, शनिबार

    दमौली । व्यास नगरपालिका-३ निवासी स्व. हरिभक्त भट्टराईको स्मृतिमा उनका परिवारले अक्षयकोष स्थापना गरेका छन् । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसको दिन पारेर नेपाल पत्रकार महासंघमा एक लाख दश हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

    उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई छोरा सुमन भट्टराई र बुहारी यमुना भट्टराई हस्तान्तरण गरे ।

    ‘बुबा समाजसेवामा लागिरहनुभएको अवस्थामा नै स्वर्गवास हुनुभयो । त्यसैले जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं,’ सुमनले भने ।

    पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराई परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गरेको शाखा अध्यक्ष पौडेलले बताए ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताए ।