दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरि स्थित पिपलटार खानेपानी ट्याङ्कीमा महिलाको हत्या गरी फालेको अभियोगमा एक जना पक्राउ परेका छन् । गत चैत १२ गते खानेपानी ट्याङ्कीमा कास्कीको पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो ।
महिलाको हत्या अभियोगमा एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । घटनासम्बन्धमा बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने शर्माले बताए ।
निज महिला गत फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।
घर–घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको थियो ।