तनहुँ–१ मा गोविन्द नलड्‌ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ–१ मा गोविन्द नलड्‌ने

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७९, शनिबार

    दमौली । तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी यसपटक नलड्ने भएका छन् । कांग्रेसबाट अनुशासनको कारबाहीमा रहेका जोशी यो चुनाव नलड्ने मनसायमा छन् । जोशी मंसिरको चुनावमा स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला उनले ६ हजार ८८६ मत ल्याएका थिए ।

    योपटक आफू नउठ्ने तर छोरा दीपकराज जोशीलाई उठाउने योजनामा गोविन्दराज छन् । ‘यसपटक बुवा उठ्नुहुन्न । एमालेले टिकट दियो भने म लड्ने हो,’ दीपकराजले भने । एमालेले साथ नदिएमा जोशी परिवारले यसपटक एमालेलाई सहयोग गर्न सक्ने सम्भावना छ । 

    तनहुँमा कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि प्रभाव छ । उनको व्यक्तिगत प्रभावमा ५ देखि ७ हजार मत छ । जुन गत मंसिरको चुनावी नतिजाले पनि पुष्टि गर्छ । वैशाखमा भएको स्थानीय तह चुनावमा एमालेले जोशीका छोरा दीपकलाई व्यास नगरपालिकाको मेयरमा सहयोग गरेको थियो । मंसिरको चुनावमा जोशीले एमालेलाई सहयोग गर्ने चर्चा थियो । तर, जोशी आफैँ चुनाव लडे । 

    जोशीले यो चुनावमा एमालेको सहयोग लिने वा एमालेलाई सहयोग गर्ने आसमा एमाले तनहुँका नेताहरू छन् । जोशी परिवार भने एमालेले सहयोग गरे आफूहरूले जित्न सक्ने दाबी गरेको छ । उपनिर्वाचनमा आफूलाई सघाउन आग्रह गर्दै गोविन्द र दीपकले एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरूङलगायतलाई भेटेका छन् ।

    ‘मैले आफ्नो कुरा राखेको छु । केपी ओलीसँग दुई हप्ताअघि भेटेको थिएँ,’ दीपकले भने, ‘एमाले र हाम्रो भोट जोड्दा जित्न सकिन्छ । चुनाव चिह्न दिनु एउटा कुरा हो । पार्टीमा कुनै भूमिका नै दिनुभयो भने के हुन्छ भन्न सकिँदैन ।’

    मंसिरको चुनावमा नेकपा एमाले र जोशी परिवार मिलेको भए रामचन्द्र पौडेललाई अप्ठेरो पर्न सक्थ्यो । तर, जोशीले छुट्टै उम्मेदवारी दिँदा पौडेललाई झनै सहज भएको थियो । ४ मंसिरको चुनावमा तनहुँ १ मा रामचन्द्र पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका थिए । पौडेलले २५ हजार ३१८ र रानाले १९ हजार ९४३ मत ल्याएका थिए । जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । रामचन्द्र र एकबहादुरको मतान्तर ५ हजार ३७५ थियो ।

    एमालेले शनिबार उम्मेदवार टुंगो लगाउँदैछ । तनहुँ–१ मा उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनाल, गण्डकी प्रदेशका पूर्वसांसद रामबहादुर गुरुङसहित ६ जना आकांक्षी छन् । यो क्षेत्रबाट सर्वेन्द्र र रामबहादुरमध्ये एक जनाले टिकट पाउने चर्चा छ । दुवै जना ४ मंसिरको चुनाव हारेकाले अध्यक्ष ओलीले अन्य पात्र रोज्न सक्ने सम्भावना पनि छ ।

    सर्वेन्द्र काठमाडौं–६ बाट प्रतिनिधिसभा र रामबहादुर तनहुँ १ (१)बाट गण्डकी प्रदेशसभा सदस्य लडेका थिए । तनहुँमा एकीकृत समाजवादीका नेतालाई पार्टी प्रवेश गराएर टिकट दिने चर्चा भए पनि त्यो सम्भावना तत्काल नरहेको एमाले स्रोतले बतायो । (शिलापत्रबाट)