दमाैली । तनहुँमा जंगली च्याउ खाएका ४ जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका–१ मानुङका ३३ वर्षीया रिमा विक, १३ वर्षीया रमित विक, २३ वर्षीया कविता विक र उनकी ४ वर्षीया छोरी अञ्जली विक बिरामी परेकी हुन् । उनीहरु एकै परिवारका हुन् ।
आइतबार विहान जंगली च्याउ खाएका उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । खाँणका अनुसार बिरामी परेका ४ जनालाई नै उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो ।
रिमा र रमितको उपचारपश्चात डिस्चार्ज भएका छन् । कविता र अञ्जलीलाई भने थप उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको प्रहरी उपरीक्षक खाँणले बताए ।