दमाैली । जिल्ला अनुगमन समिति तनहुँले बन्द गर्न निर्देशन दिइएका दर्ता नभएका क्रसर उद्योग खुलेआम सञ्चालनमा आउँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेकाे छ । नेपाल सरकार मन्त्रिपरिषद्को माघ ११ को निर्णयअनुसार दर्ता नभएका क्रसर उद्योगलाई बन्द गराउने परिपत्र अनुसार तनहुँ जिल्ला अनुगमन समितिले जिल्लाका आठ क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।
तरपनि सरकारी निकायलाई चुनौति दिँदै केही उद्योगहरुले खुलेआम क्रसर सञ्चालन गरिरहेका छन् । बन्द गर्न निर्देशन दिइएका उद्याेग सञ्चालन हुँदा पनि प्रहरी प्रशासनले निर्णय कार्यान्वयन गराउन सकेकाे छैन । अनुगमन समितिले गरेकाे निर्णय कार्यान्वयन नहुँदा आशङ्का जन्मिएकाे छ ।
जिल्लामा आठ क्रसर दर्ता भएका छैनन् । शुक्लागण्डकी–२ स्थित जय महालक्ष्मी एग्रिगेट इन्डष्ट्रिज प्रालि, शुक्लागण्डकी–७ स्थित एसिक्स एग्रिगेट कमपनी प्रालि, शुक्लागण्डकी–२ स्थित एसएनएल एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि, शुक्लागण्डकी–७ स्थित मेलमिलाप ढुंगा बालुवा गिटी उद्योग प्रालि, शुक्लागण्डकी–७ स्थित प्रोफर कन्स्ट्रक्सन एण्ड क्रसर इण्डष्ट्रिज प्रालि, म्याग्दे–३ स्थित अकला रुद्रदेवी गिटी बालुवा उद्योग प्रालि, म्याग्दे–४ स्थित जलदेवी क्रसर उद्योग प्रालि र बन्दीपुर–६ स्थित नमूना ग्रिड एण्ड क्रसर प्रालि दर्ता छैनन् ।
त्यसमध्ये म्याग्दे–३ को अकला रुद्रदेवी र म्याग्दे–२ को जलदेवीले अनुगमन समितिको निर्णयलाई चुनौति दिँदै क्रसर सञ्चालन गरिरहेका छन् । दर्ता नभई बन्दीपुर गाउँपालिका–६ मा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर प्रालिले पनि केही दिनयता क्रसर सञ्चालन गरिरहेको छ । उक्त उद्योगको विद्युत लाइन काटिएकामा केही दिनअघि मात्रै विद्युत पुनः जोडिएको बताइएको छ ।
जिल्लामा अन्य १२ क्रसर भने दर्ता भएका तथा नवीकरण भएका छैनन् । नेपाल सरकारको निर्णय अनुसार नै त्यस्ता उद्योगलाई भने विसं २०८० असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ ।
साङ्केतिक तस्वीर