भिमादको थुम्कीडाँडामा बौद्ध बिहार निर्माण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादको थुम्कीडाँडामा बौद्ध बिहार निर्माण हुने

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    दमौली । तनहुँको भिमाद नगरपालिका–६ थुम्कीडाँडामा विश्व शान्ति बौद्ध बिहार निर्माण हुने भएको छ । विश्वशान्ति बौद्ध बिहार समितिले बौद्ध बिहारसँगै शान्ति स्तुपा निर्माण गर्न लागेको हो ।

    विश्व शान्ति बौद्ध बिहार भिमादको आयोजनामा थुम्कीडाँडामा २५६७ औं बुद्ध जन्मजयन्तीको अवसरमा शुक्रबार भगवान गौतम बुद्धको पूजा आराधना समेत गरेको छ ।

    बुद्ध जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सांसद जीतप्रकाश आलेले थुम्कीडाँडामा शान्ति स्तुपा निर्माण स्थलमा शान्ति झण्डात्तोलन गर्नुभयो । सोही अवसरमा सांसद आलेले विश्व शान्ति बौद्ध बिहार र शान्ति स्तुपा निर्माणका लागि बजेटको पहल गर्ने बताए ।

    उनले भने, “बौद्ध बिहारसँगै विश्व शान्ति स्तुपा लगायतका संरचना निर्माण सबै मिलेर गर्ने हो । म जनप्रतिनिधि भएकाले यसको निर्माणमा मैले सक्दो सहयोग गर्छु । विश्वशान्ति बौद्ध बिहार निर्माण सम्पन्न गर्न सके धार्मिक पर्यटकीय स्थलको विकास हुन्छ ।”

    भिमादलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको विकास गर्ने उदेश्यले बौद्ध बिहार निर्माण गर्न लागिएको विश्वशान्ति बौद्ध बिहार भिमादका अध्यक्ष डा.देवबहादुर थापाले बताए ।

    थुम्कीडाँडामा करिब २० रोपनी क्षेत्रमा बौद्ध बिहार, विश्वशान्ति स्तुपा, विपश्यना ध्यान केन्द्र, बगैँचा, पदमार्ग, बौद्ध धर्म दर्शन तथा परियत्ति शिक्षा अध्ययन पुस्तकालय, भगवान बुद्धको जीवनी तथा दर्शनसँग सम्बन्धित श्रव्यदृश्य केन्द्र, धम्म देशना हल लगायतका संरचना निर्माणको गुरुयोजना बनाइएको छ । यी सबै पूर्वाधार निर्माण गर्न करिब रु १५ करोड बजेट आवश्यक पर्ने उनले बताए ।

    उनले भने, “बौद्ध बिहार निर्माणका लागि गुरुयोजना बनाएको छौ । तर, पूर्वाधार निर्माणका लागि कहीँ कतैबाट बजेट विनियोजन भएको छैन । यसका लागि स्थानीय, प्रदेश र सङघीय सरकारसँग बजेट माग गर्छौ ।”

    भिमाद नगरपालिकाको बजेटमा बिहार स्थलसम्म सडक ट्रयाक र सिँढी बाटो निर्माण भएको छ । तर, अन्य पूर्वधार निर्माणका लागि बजेट अपुग भएको छ ।

    थुम्कीडाँडामा बुद्ध जयन्ती दिन वर्षेनी पूजा आराधाना गर्दै आइरहेको विश्वशान्ति बौद्ध बिहारका सचिव तथा रिबहादुर रानाले बताए । बौद्ध बिहार बनाउन सकिए धर्मलम्बीहरुलाई पूजा आराधाना तथा ध्यान गर्न व्यवस्थित हुने उनको भनाइ छ ।

    थुम्कीडाँडामा सडक, सिँढी निर्माण भएदेखि दिनहुँ मान्छे पुग्ने गरेको विश्वशान्ति बौद्ध बिहार भिमादका उपाध्यक्ष क्याप्टेन खड्क बहादुर थापाले बताए ।

    भिमाद वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशीले नगरपालिकाका तर्फबाट यसका लागि बजेट विनियोजन गरिएको बता । उनले भने, “नगरपालिकाको बजेटले सडक ट्रयाक, सिँढी निर्माण लगायतका संरचना निर्माण भएको छ । अन्य संरचना बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेट व्यवस्था गर्नुपर्छ ।”