नारायणगढ–मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८०, शनिबार

    चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् ।

    केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अबरुद्ध हुँदै आएको छ । बर्खा लागेसँगै पहिरो खस्नु नयाँ होइन । विश्व बैंकको पहिरो विज्ञसहितको प्राविधिक टोलीले यसअघि दुईपटक गरेको अध्ययनमा मौरीखोला माथिको एकापट्टी डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको थियो ।

    सो ठाउँमा २५ हजार घनमिटर हाराहारीमा पहिरो खस्नसक्ने विज्ञ टोलीको अनुमान छ । कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलले भने“आठ/दश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।”पहिरो कतिबेला खस्छ थाहा नहुने भएकाले बर्खामा यससडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण देखिएको छ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडो देखिएको थियो ।

    डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिराको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ । सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गर्नुभएका इन्जिनियर शिव खनालका अनुसार भूगर्वविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झण्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ ।

    यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरुले आँकलन गरेको उहाँको भनाइ छ । सो सडकखण्डको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । हाल ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएका छन् । ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पछिल्ला केही दिन यता पहिरोले दुःख दिइरहेको छ ।

    आज दिउँसो १ बजेबाट नाम्ची पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिगत तीन वर्षयता वर्षातको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो ठाउँमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ ।

    कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलका अनुसार विगतका वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा छन् । सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

    पौडेलका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छ्याउनका लागि साधन तयारी अवस्थामा राखेको छ । सो सडकका अन्य क्षेत्रमा सानातिना पहिरो खस्ने क्रम जारी रहेको छ । पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने अनुमान गरे । उनले भने, “जुनसुकै ठाउँमा पहिरो खस्ना साथ पन्छ्याउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौँ ।” उनले रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न आग्रह गरे। यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेर मात्रै हिँड्न उनकाे सुझाव छ ।