प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८०, सोमबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

    छलफलमा नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । सरकारले अगाडि बढाएको महत्वपूर्ण विधेयक प्रक्रियामा लैजान ढिलाइ भएकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन प्रमुख सचेतकसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा भइरहेको ढिलाइका बारेमा प्रधानमन्त्रीले चासो राखेका थिए ।

    “प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकको काम के हुँदैछ भनेर उहाँले चासो राख्नुभएको थियो”, प्रमुख सचेतक परियारले भने, “कानुन, न्याय तथा मानवअधिकार समितिले उपसमिति बनाएर छलफल सकेको र प्रतिवेदन लेखनको काम भइरहेको जानकारी गराएको छु ।”

    यस्तै प्रमुख सचेतक परियारले संसदीय समितिको सभापति चयनमा विलम्ब हुँदा प्रभावकारी काम गर्न कठिनाइ भएका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।