बालगृहमै बालबालिकाले लगाए भाइटिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालगृहमै बालबालिकाले लगाए भाइटिका

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०८०, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।

    बालगृहमा आश्रय लिइरहेका बालबालिकाले भाइटिका लगाएर तिहार मनाएका हुन् । बालगृहमा रहेका दुई बालिकाहरुले चार बालकलाई टिका लगाइदिएका थिए ।

    तनहुँको भिमाद नगरपालिका–१ घर भएकी कुशा नेपाली र व्यास नगरपालिका–११ तनहुँसुर घर भएकी बर्मिला प्रजाले चार जना बालकलाई भाइटिका लगाएदिएका थिए । ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर घर भई बालगृहमा रहेका सुमन विकले तिहारको बेला भाइटिका लगाउन पाएकामा खुसी व्यक्त गरे।

    उनले भने, “तिहारमा कोसँग टिका लगाउने भन्ने चिन्ता रहेन, बालगृहमै टिका लगाउन पाउँदा खुसी लागेको छ ।” अभिभावकविहिन विकले बालगृहमा आश्रय लिँदै आएका छन् । बारा घर भई बालगृहमा रहेका शिव यादवले पनि दुई बालिकाको हातबाट भाइटिका लगाए।

    बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए। “दुई जना बालिकाले चार जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्,” उनले भने, “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”

    बालगृहमा रहेका छ जनामध्ये पाँच जना तनहुँ ठेगाना भएका र एक जना बारका हुन् । त्यसमध्ये पाँच जना अभिभावकविहिन हुन् भने एक जना विविध कारणले बालगृमा आइपुगेका हुन् ।

    आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि विगत पाँच वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृह सञ्चालनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग हुँदै आएको छ । घिमिरेले भने, “बालगृह सञ्चालनका लागि सरकारी निकायबाट सहयोग छैन, विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुन्छ । व्यक्तिहरुले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग प्रदान गर्नुहुन्छ । यसैबाट बालगृहको खर्च व्यवस्थापन हुँदै आएको छ ।”