पोखरा । पोखरामा गाईलाई ठक्कर दिएर भागेका बसका चालकलाई तनहुँबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ का वर्ष २८ का रोशन ठकुरी रहेका छन् ।
पोखरादेखि काठमाडौंतर्फ जाँदै गरेको ना५ख २११३ नम्बरको यात्रुवाहक बसले पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रस्थित पृथ्वी राजमार्गमा बाटोमा हिँडिरहेको गाईलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गाई तत्काल मरेको थियो । गाईलाई ठक्कर दिएर भागेको बस र चालक ठकुरीलाई तनहुँ प्रहरीको सहयोगमा शुक्लागण्डकी नगरपालिका वड नं. ५ बेलचौताराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ठकुरीविरुद्ध पशुपंक्षी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।