दमाैली । तनहुँको प्रसिद्ध थानीमाई मन्दिरमा माघको पहिलो मङ्गलबार ४३ फूलको डोली भित्रिएको छ । भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा ४३ फूलको डोली भित्रिएको हो ।
त्यसक्रममा तीन हजार चार सय भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए। फूलको डोली भित्र्याउन तनहुँका अलवा छिमेकी जिल्ला कास्की, लमजुङ, गोरखा, चितवनबाट भक्तजन आएको उनकाे भनाइ छ ।
थापाका अनुसार सोमबार रातभर जागाराम बस्ने भक्तालुको सङ्ख्या एक सय २१ थियो । मन्दिरमा पुस महिनामा भने फूलको डोली भित्रिदैन ।
मन्दिरमा गत मङ्सिरको तीन वटा मङ्गलबार एक सय नौ फूलको डोली भित्रिएको छ । अन्तिम मङ्गलबार औंसी परेका कारण त्यस दिन फूलको डोली भित्रिएको थिएन । त्यस्तै कात्तिकको मङ्गलबार एक सय ६१ फूलको डोली भित्रिएको समितिले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।