पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८१, सोमबार

    दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।

    बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुङ्गा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए । उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।”

    केही ठाउँमा ठूला ढुङ्गा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए । उनले भने, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिरा हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ ।

    गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँं नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।

    गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका–१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ । उक्त मार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ ।