बन्दीपुर गाउँपालिकामा दरबन्दी बाहिरका कर्मचारीको करार सम्झौता अन्त्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर गाउँपालिकामा दरबन्दी बाहिरका कर्मचारीको करार सम्झौता अन्त्य

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८१, मंगलवार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकाले दरबन्दी भन्दा बाहिरका कर्मचारीको करार सम्झौता रद्ध गरेको छ । बन्दीपुर गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट तलबभत्ता भुक्तान गरिने गाउँपालिका र वडा कार्यालयहरुमा दरबन्दी भन्दा बाहिर रही करारमा कार्यरत आठ जना कर्मचारीहरुको भदौ मसान्तबाट करार सम्झौता अन्त्य गरी म्याद थप नगर्ने निर्णय गरेको हो ।

    गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार करारबाट पदपूर्ति गर्न नमिल्ने पदहरुमा करारबाट पदपूर्ति गरी गाउँपालिकाले तलबभत्ता भुक्तानी गरेको तथा उक्त कार्य प्रचलित ऐन, नियम बमोजिम अनियमित हुने भनी महालेखा परीक्षकको प्रतिवेदनमा समेत पटक–पटक उल्लेख भएकाले त्यस्ता कर्मचारीको म्याद थप नगरिएको हो ।

    उनका अनुसार दरबन्दी भन्दा बाहिरका पदहरु मध्ये सहायकस्तर चौथो तहमा कार्यरत छ जना र दुई जना कार्यालय सहयोगी गरी आठ जना कर्मचारीहरुको करार सम्झौता अन्त्य गरिएको छ । स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका शाखाहरुमा कार्यरत दरबन्दी भन्दा बाहिरका अन्य पदहरुमा कार्यरत कर्मचारीहरुको सन्दर्भमा पनि कार्यपालिकाबाट निर्णय गरी म्याद थप अन्त्य गरिने तथा प्रचलित ऐन, कानुन बमोजिम नियुक्तीको प्रक्रिया अगाडी बढाइने थापाले बताए ।

    अध्यक्ष थापाका अनुसार गाउँपालिकालाई चालु आर्थिक वर्षदेखि नै भ्रष्टचारमा शुन्य सहनशीलता तथा बेरुजुमुक्त पालिकाको रुपमा अगाडि बढाउनका लागि यस्तो निर्णय गरिएको हो ।

    उनले भने, “करार सम्झौता अन्त्य गर्ने निर्णयलाई राजनैतिक पूर्वाग्रहको रुपमा नलिई सुशासन कायम तथा आर्थिक अनियमितताको अन्त्यका लागि लिइएको निर्णयका रुपमा लिन बन्दीपुरवासीलाई आग्रह गर्दछु ।” थापाले समृद्ध बन्दीपुर निर्माणका लागि गाउँपालिकालाई रचनात्मक सल्लाह, सुझाव तथा सहयोग गर्न तथा करार सम्झौता अन्त्य भएका कर्मचारीहरुलाई समेत निजहरु कार्यरत रहँदा गाउँपालिकाको सेवा प्रवाहमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन सहित धन्यवाद ज्ञापन गरिएको उल्लेख गरे।