चिल्लो सडकले ऑबुखैरेनीमा दुर्घटना बढाएपछि कालोपत्र उप्काइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चिल्लो सडकले ऑबुखैरेनीमा दुर्घटना बढाएपछि कालोपत्र उप्काइयो

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८१, बुधबार

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मुख्य बजारसम्मको सडक चिल्लो भएर दिनहुँ दुर्घटना हुन थालेपछि गाउँपालिकाले डोजर लगाएर खस्रो बनाएको छ ।

    उक्त सडक सुधारका लागि सडक डिभिजन कार्यालय तथा सरोकार भएका निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाले मङ्गलबार डोजर लगाएर कालोपत्र भत्काएको हो ।

    चिल्लो सडकका कारण दुर्घटना हुन थालेपछि गाउँपालिकाले चिल्लो सडक भत्काएर खस्रो बनाउने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । लामो समयदेखि दिनहुँजसो दुर्घटना हुन थालेको र सम्बन्धित निकायले सुनुवाइ नगरेपछि डोजरले चिल्लो भएको कालोपत्रको भाग भत्काइएको उनले जानकारी दिए ।

    चुमानले भने, “पालिकाको चोकबाट बजारचोकसम्मको खण्डमा दर्जनाँै सवारीसाधन दुर्घटना हुनुको कारण चिल्लो सडक रहेको विभिन्न अनुगमन तथा स्थानीयबाट जानकारी भइसकेको छ । तत्काल मर्मतको आश्वासन पाए पनि काम भने भएन, दुर्घटना न्यूनीकरणका लागि यो कदम लिन बाध्य भयौँ ।”

    चाडपर्व नजिकिँदै जाँदा सडक चाप पनि बढ्ने हुँदा झन् अकल्पनीय घटना नहोस् भन्न कालोपत्र निकालिएको उनको भनाइ छ । अध्यक्ष चुमानले केही महिनायता उक्त खण्डमा दिनहुँजसो सवारीसाधन चिप्लिएर दुर्घटना हुने गरेको बताए ।

    सडक डिभिजन कार्यालयले सडकको निर्माण गरेको एमएस वल्र्डवाइड पशुपति जेभी काठमाडौँलाई उक्त खण्ड सुधार गर्न गत शुक्रबार पत्र लेखेको थियो । सडक डिभिजन दमौलीका प्रमुख राजीव श्रेष्ठले सडक डिभिजन र निर्माण कम्पनीबीच भएको सम्झौता बमोजिम काम गर्न निर्देशन दिइएको जानकारी दिए ।