दमाैली । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को १२ औं राष्ट्रिय महाधिवेशन तनहुँ सदरमुकाम दमौलीमा हुने भएको छ । छोंज धीं को महाधिवेशन आगामी कात्तिक २४ गतेदेखि २६ गतेसम्म दमौलीमा हुन लागेको हो ।
राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहने जानकारी दिए। महाधिवेशन सम्पन्न गराउन करिब रु २० लाख खर्च हुने अनुमान गरिएको उनकाे भनाइ छ ।
महाधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्य सहित विसं २०५२ साल माघ २६ गते स्थापना भएको हो । विसं २०५२ साल माघ २६ र २७ गते बुटवलमा प्रथम महाधिवेशन, विसं २०५४ सालमा काठमाडौमा दोस्रो सम्मेलन, विसं २०५७ मा चितवनमा तेस्रो सम्मेलन, विसं २०६० सालमा धरानमा चौथो सम्मेलन, विसं २०६३ सालमा पोखरामा पाँचौ सम्मेलन, विसं २०६६ सालमा पोखरामा छैटो सम्मेलन, विसं २०६८ सालमा बुटवलमा सातौ, विसं २०७० मा काठमाडौमा आठौ, विसं २०७५ मा काठमाडौमा नवौ, विसं २०७९ मा काठमाडौमा दशौं सम्मेलन सम्पन्न भएको जनाइएको छ ।
संयोजक तमुले भने, “सम्पूर्ण विद्यार्थी सङ्गठनहरुसँग पारस्परिक सहयोग, सद्भाव एवं मैत्रीपूर्ण साझेदारी कायम राखी, आत्मनिर्णयको अधिकार सहित जातयि स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज व्यवस्था, जातीय तथा शैक्षिक चेतना माथि उठाइ नेतृत्व विकास गर्दै तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्तिका लागि तमु विद्यार्थीबीच भावनात्मक एकता, पारस्परिक सहयोगको स्थापना गर्ने संस्थाको प्रमुख उद्धेश्य हो ।”