व्यासमा प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८१, बिहीबार

    दमौली । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ ।

    नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो ।

    दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

    पर्यावरणीय प्रभावलाई मध्यनजर गर्दै प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको व्यास नगरपालिकाले नगरभित्र व्यापक बजार अनुगमन सम्पन्न गरेको छ।

    नगरपालिकाले प्लाष्टिक झोलाको प्रयोग नगर्न जनचेतना फैलाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको भएपनि अझै पनि बजार क्षेत्रमा यसको प्रयोग भइरहेको पाइएको छ ।

    नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक रु दुई हजार, दोस्रोपटक रु चार हजार र तेस्रोपटक रु छ हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।