दमौली। मानव सेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानका क्रममा तनहुँबाट छ जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।
अभियानको २५ औं दिन बिहीबार तनहुँबाट छ जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको हो । शुक्लागण्डकी नगरपालिकाबाट तीन र व्यास नगरपालिकाबाट तीन जनाको उद्धार गरिएको मानव सेवा आश्रमका बोर्ड सदस्य एवं बागमती प्रदेश प्रमुख हुमनाथ पौडेलले जानकारी दिए । पौडेलका अनुसार पाँच जना पुरुष र एक जना महिला सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।
तनहुँबाट उद्धार गरिएका सहयोगापेक्षी सडक आश्रित मानवलाई कास्कीस्थित हेम्जामा रहेको मानव सेवा आश्रमको शाखामा व्यवस्थापन गरिने उनले बताए । आनी छोइङ डोल्मा फाउण्डशनको सहकार्यमा असोज २६ गतेदेखि अभियान सुरु गरिएको थियो । यस वर्षको चाडपर्वमा कसैले पनि सडकपेटीमा जीवनयापन गर्नु नपरोस् भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको थियो ।
अभियानअन्तर्गत बिहीबारसम्म एक सय ८३ जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले एक सय ४० जना पुरुष र ४३ जना महिलाको उद्धार गरिएको जानकारी दिए । त्यसमध्ये पाँच बालिका र चार बालक रहेका छन् ।
राष्ट्रिय उद्धार टोली पोखरा हुँदै तनहुँका सडकपेटी तथा सार्वजनिक स्थानमा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखाका हुँदै धादिङका विभिन्न स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा खटिने अधिकारीले बताए ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवाकेन्द सञ्चालनमा ल्याई सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।
यस वर्षको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले विसं २०८२ सालभित्र सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सघाउ पु¥याउने विश्वास रहेको छ ।
अभियानकै क्रममा केही आमाबुबाको पारिवारिक पुर्नमिलन समेत गराइएको जनाइएको छ । अभियानमा मानव सेवा आश्रमका ४७ जनाको टोली सहभागी छ । उक्त अभियान मङ्सिर ३ गते समापन गरिनेछ ।