दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाइ मन्दिरबाट निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको हो । उक्त पदमार्गलाई मिनी ग्रेटवालको रुपमा समेत प्रचारप्रसार गरिएको छ ।
थानीमाइ मन्दिरबाट निर्माण सुरु भएको उक्त पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । निकट भविष्यमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीस्म्म जोड्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित नयाँ गन्तव्यस्थल बनाउन खोजेका हौ ।”
थापाका अनुसार अहिले यहाँ दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्ने काम भइरहेको छ । उनले भने, “केही समय यसको काममा ढिलाइ भएको थियो, गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।”
पदमार्गको दूरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम सकिएको थापाले बताउनुभयो । यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको छ ।
यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको थापाको भनाइ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन सकिए पर्यटन व्यवसाय फस्टाउने बताए।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।