दमाैली । तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा गत कात्तिक १७ गते हत्या गरिएका ४८ वर्षीय दिलीप तामाङका आफन्त १६ दिन बित्दा समेत सम्पर्कमा आएका छैनन् ।
निर्माणाधीन पराशर मार्गमा मजदुरी काम गर्ने नुवाकोट घर भएका तामाङको कात्तिक १७ गते राति ८ बजे चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यामा संलग्न ३८ वर्षीय विशाल भन्ने प्रेमबहादुर थापा मगरलाई प्रहरीले सोही राति पक्राउ गरिसकेको छ ।
मृतक तामाङको हालसम्म पनि वास्तविक नामथर वतन खुलेको तथा आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले बताए । मृतक तामाङको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । उनले भने, “निज मृतकको घरपरिवार आफन्तबाट मृतकको सनाखत पहिचान गरी कानून बमोजिम जिम्मा लगाउनुपर्ने हुन्छ । तर मृतकका आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।”
मृतकको घर नुवकोट भन्नेसम्म खुलेपनि आफन्तको पहिचान र सम्पर्क हुन नसक्दा समस्या भएको थापाको भनाइ छ । गहुगोरो वर्ण, ठिक्कको शरीर, प्याजी रङको टिसर्ट, सेतो पाइन्ट लगाएका मृतक तामाङलाई चिन्नेहरुले प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले उल्लेख गरे ।
उनले भने, “मृतक तामाङको घर नुवाकोट माथि लेकमा भन्ने मात्रै खुलेको छ । विस्तृत खुल्न नसक्दा शव जिम्मा लगाउन सकिएको छैन ।”