बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै, जनज्योति मावि भिमादमा संयुक्त अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै, जनज्योति मावि भिमादमा संयुक्त अनुगमन

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८१, सोमबार

    दमौली। तनहुँमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय बाल क्लवको आयोजनामा तनहुँका २० वटा विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालन गरिएको छ ।

    कार्यक्रम अन्तरगत बालिकाहरुमा जीवन उपयोगी सीपको बिकास हुनुका साथै सोही अनुसार ब्यवहारमा परिवर्तन भएको पाइएको जनज्योति मावि भिमादका प्रधानाध्यापक गणेश सुवेदीले जानकारी दिए ।

    सन २०१८ बाट सुरु भएको बालिका शिक्षा कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका किशोरी उमेर समूहका बालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गरिएको फिल्ड कार्यक्रम ब्यवस्थापक दिनेश पोख्रेलले बताए ।

    बालिका शिक्षा कार्यक्रम लागू भएपछि बालिकाहरुमा सकारात्मक सोच, आत्म विश्वास , नेतृत्वदायी भूमिका लगाएतका विषयमा परिवर्तन आएको सूर्योदय बाल क्लबका कार्यक्रम प्रबन्धक प्रदिप रानाले जानकारी दिए ।

    कार्यक्रम सुरुवात भए सँगै बालिकाहरु विद्यालयमा नियमित उपस्थिति रहेको र नतिजामा समेत राम्रो अंक प्राप्त गर्ने गरेका छन् । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरोकालवाला सबैको सहकार्य हुन जरुरी रहेको सूर्योदय बाल क्लबका कार्यक्रम अधिकृत रेशम श्रेष्ठले बताए ।

    यसैबीच कार्यक्रमको प्रभावकारीता बारे अनुगमन गर्न सोमबार जिल्ला स्तरीय संयुक्त टोली भिमादमा रहेको जनज्योति माविमा पुगेको छ । उक्त अवसरमा बालिका शिक्षा कार्यक्रम अन्तरगत जीवन उपयोगी सीपको व्यावहारिक पक्षको बारेमा कक्षा ७ का बालिकाहरु र सरोकारवालाबीच छलफल गरिएको कार्यक्रम अधिकृत लक्ष्मी नेपालले जानकारी दिइन् ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख बासुदेव थापाले जीवन उपयोगी सीपले गर्दा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरे । भिमाद नपाका नगर प्रमुख दधिराज सुवेदीले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले लगानी गर्न तयार रहेको बताए ।

    कार्यक्रममा भिमाद नपाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, शिक्षा शाखा प्रमुख उप-सचिव सन्दिप पौडेल, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष डिपि अधिकारी लगायतले रुम टु रिड र सूर्योदय बालक्लबले बालिकाहरुमा जीवन उपयोगी सीपका लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।