


दमाैली, २५ असार । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मिन माध्यमिक विद्यालयलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क जामुने शाखाले रु एक लाख सहयोग गरेको छ । बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् जोखिम न्यूनीकरणका लागि विद्यालयलाई रु एक लाख सहयोग गरेको हो ।
गत जेठ १ गते आएको हावाहुरी र वर्षाले विद्यालयको पुरानो १२ कोठे भवनको छानो उडाएकाले भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको बैङ्कका शाखा प्रमुख विश्वराज पौडेलले जानकारी दिए ।
भवनको छानो उडाउँदा अध्ययन कार्यमा समस्या भएकाले ढुङ्गा निकालेर ट्रस निर्माणका लागि बैङ्कले सहयोग गरेको हो ।
विद्यालयमा बुधबार आयोजित कार्यक्रममा पौडेलले विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवं म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीले उक्त रकमले विद्यालय भवन पुनर्निर्माणका लागि सहयोग पुग्ने र अध्ययन कार्यमा सहज हुने बताए ।