


दमौली, १६ साउन । इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले रामशाह माध्यमिक विद्यालयमा महिला सुरक्षा, आत्मरक्षा तथा अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
महिला तथा किशोरीहरू दिनानुदिन विभिन्न प्रकारका सामाजिक, शारीरिक तथा साइबर हिंसाको जोखिममा परिरहेका वर्तमान परिवेशमा, तिनीहरूलाई सुरक्षा बारे सचेत गराउने, आत्मरक्षा गर्न सक्ने बनाउने र उनीहरूका मौलिक अधिकारबारे जानकारी प्रदान गर्नु पर्ने आवश्यकतालाई दृष्टिगत गर्दै सचेतनामूलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयसँग समन्वय गरी उक्त विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत छात्राहरू लक्षित गरी सचेतना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा सुवेदी र प्रहरी सहायक निरीक्षक धन बहादुर थापाले मुख्य प्रशिक्षकको रुपमा सहभागी विद्यार्थी छात्राहरुलाई आफ्नो व्यक्तिगत सुरक्षा सम्बन्धमा सचेत बनाउने, आत्मरक्षा गर्न सक्ने सीप र आत्मबल विकास गराउने, यौन तथा साइबर हिंसाबाट जोगिन आवश्यक सतर्कता र उपायबारे जानकारी दिनुका साथै, विधमान कानुनले महिलालाई दिएको संरक्षण र अधिकारबारे अवगत गराएका थिए ।