विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८२, शनिबार

    दमाैली, २२ कात्तिक । यहाँको व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई शनिबार न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको हो ।

    गफ्फारले सञ्चालन गर्नुभएको कपडा बैङ्क मार्फत् यहाँका ४२ घरधुरीका चेपाङ समुदायलाई रु २५ हजार बराबरको कपडा सहयोग गरिएको छ । न्यानो कपडा अभियान अन्तर्गत तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट नयाँ कपडा र शुभेच्छुकबाट प्राप्त लगाउन योग्य कपडाहरु मिलाएर विपन्न समुदायलाई कपडा सहयोग गरिएको उनले बताए ।

    May be an image of child
    May be an image of childMay be an image of child and text

    उनले भने, “अन्य ठाउँका अति आवश्यकता भएका समुदायलाई पनि कपडा बैङ्कमार्फत् न्यानो कपडा सहयोग गर्नेछौ ।” यहाँका बालबालिकालाई शैक्षिक सामग्री र महिलाहरुका लागि सेनेटरी प्याड उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे।

    व्यास नगरपालिका–११ का वडा सदस्य गोकुल दुराले भौगोलिक हिसाबले विकट र अल्पसङ्ख्यक चेपाङ समुदायका लागि गरिएको सहयोग सराहनीय रहेको उल्लेख गरे । उनले भने, “चिसो मौसममा चेपाङ समुदायलाई सहयोगको आवश्यकता रहेको महशुस गरेर गफ्फारले जुन सहयोग गर्नुभएको छ, यो निकै सराहनीय छ ।”

    धनको धनी धेरै भएपनि मनको धनी धेरै नहुने बताउँदै वडा सदस्य दुराले थोरैमा पनि बाँडेर खाने मन गफ्फारमा रहेको चर्चा गरे।

    राम्चे ओडोरे टोल विकास संस्थाका अध्यक्ष रत्नबहादुर चेपाङले राज्यको नजरबाट पछाडि परेको चेपाङ समुदायलाई जाडोको मौसममा न्यानो कपडा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे। उनले भने, “चेपाङ समुदायमा निकै दुःख छ, गाह्रो छ । सरकारको नजर पनि चेपाङ समुदायलाई कम पर्छ ।”

    स्थानीय चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले सामाजिक अभियान्ता सुदीप गफ्फारले समाजलाई सकारात्मक सन्देश दिने खालका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।

    सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटर दूरीमा अवस्थित चेपाङ बस्तीमा ४२ घरधुरी चेपाङ समुदाय बसोबास गर्दै आएका छन् । आर्थिक रुपमा विपन्न चेपाङ समुदायलाई सहयोगको खाँचो रहेको चेपाङ सङ्घका अध्यक्ष रामबहादुर चेपाङले बताए।