राजनीति लागिरहने घुमाउने पुल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    राजनीति लागिरहने घुमाउने पुल

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८२, बुधबार

    दमाैली, २६ कात्तिक। तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमाथि अलपत्र रहेको घुमाउने पुल राजनीति गर्ने ठाउँ बनेको छ । एघार वर्ष अगाडी निर्माण सुरु भइ अलपत्र बनेको उक्त पुललाई देखाएर जिल्लाकै नेता तथा कार्यकर्ता राजनीति गरिरहेका छन् ।

    विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीका नेताको पहलमा पुल निर्माणको कामले गति लिएको दावी गर्छन् । तर पुल निर्माणको काम भने वर्षौदेखि अलपत्र अवस्थामै छ ।

    मङ्गलबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेको सचिवालयले वाग्लेको पहलमा पुलले अब गति लिने बताएको छ ।

    जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग असोज २४ गते र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसँग असोज २८ गते घुमाउने पुलको विषयमा छलफल गरेपछि पुल निर्माणको कामले गति लिएको दावी गरिएको छ । वाग्लेको सचिवालयले भनेको छ, “ खोटाङ जिल्लामा गत वर्ष यस्तै स्वरुपको पुल बगेपछि मन्त्रालयले ठेक्का तोड्न वा नयाँ डिजाइन पेश गर्न भनेर दिएको निर्देशनपछि निर्माण व्यवसायी मृत सञ्जीवनीले मन्त्रालयमा स्वीकृतिका लागि नयाँ डिजाइन पेश गरेको छ । वृहत् डिजाइन भने केही दिनमा प्राप्त हुने सडक डिभिजन कार्यालयका प्रमुख राजिव श्रेष्ठले बताउनुभएको छ । यो काम फत्ते गर्न विगत ३० महिनादेखि हामी लागिरहेकै छौं र चाँडैनै मन्त्रीहरुको स्थलगत निरीक्षण हुने योजना छ ।”

    May be an image of floor plan, blueprint and text

    यता राष्ट्रपति रामचन्द्र पौडेलका निकट नेपाल विद्यार्थी सङ्घ तनहुँका सभापति आशिष कैनीले पौडेलको विशेष पहल र सक्रिय कदमबाट अब घुमाउने पुलको कामले गति लिने बताएका छन् । लामो समयदेखि निर्माण हुन नसकेको घुमाउने पुलका लागि नयाँ डिजाइन तयार भएको भन्दै कैनीले भनेका छन्, “उहाँको दीर्घकालीन सपना साकार हुने अवस्थामा पुगेको छ । यस ऐतिहासिक योजनालाई मूर्त रूप दिनका लागि विभिन्न मन्त्रालयमा फाइल बोकेर अनवरत रूपमा दौडधूप गर्नुभएका, कूटनीतिक पहल गर्नुभएका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रपतिका स्वकीय सह–सचिव सुशील तिमल्सेना दाइको अथक मिहिनेत अब सार्थक बन्दै गएको छ ।”

    मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडासँग पहिलो पटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म आधा मात्रै काम भएको छ ।

    सडक डिभिजन कार्यालयले पटक पटकको पत्राचार, ताकेता, उत्तरप्रतिउत्तर पश्चात् निर्माण व्यवसायी डिजाइन परिवर्तन गर्न तयार भएको जनाएको छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।