


दमौली, १० पुस । रुकुम पूर्व सिस्ने गाउँपालिका–८ का नेपाली कम्युनिस्ट पार्टीका सदस्य केशव रावलले रुकुम पूर्वदेखि काठमाडौँसम्म पैदलयात्रा सुरु गरेका छन् । दश दिनमा करिब ३ सय ५२ किलोमिटर दूरी पैदल यात्रा गर्दै बिहीबार उनी दमौली आइपुगेका छन् ।
एकल यात्रा गरेका रावलले राष्ट्रिय झण्डा, कम्युनिष्ट पार्टीको हँसिया हतौडा अंकित झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा अङ्कित झन्डा बोकेका छन् । उनका अनुसार माओवादी जनयुद्धको क्रममा रुकुम जिल्लाबाट उच्चतहका पहिलो सहिद भएका कमान्डर दौलतराम घर्ती ‘विजय घले’को बलिदानीको दिन अर्थात् स्मृति दिवसको अवसर पारेर पुस १ गतेदेखि पैदल यात्रा गरेका हुन् ।
पैदलयात्राका क्रममा रावलले प्रतिघण्टा पाँच किलोमिटरसम्म हिँड्ने क्षमता देखाउँदै निरन्तर यात्रा गरिरहेका छन् । उनले नेपालका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्ने, देशमा स्थायी शान्ति र सद्भाव कायम हुनुपर्ने सन्देश बोकेर यात्रा अघि बढाएको बताए।
रावल काठमाडौँको पेरिसडाँडामा पुगेर पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी रुकुम पूर्वका विकासका आवश्यकता, जनजीविकासँग जोडिएका समस्या तथा समग्र अवस्थाबारे जानकारी गराउने तयारीमा छन् । साथै रुकुम पूर्वको विकास र दीर्घकालीन समस्याका विषयमा सम्बन्धित मन्त्रालयहरूमा ध्यानाकर्षण गराउने उनको उद्देश्य रहेको छ।
बिहीबार दमौलीमा पत्रकारसँग उनले भने, ‘पैदलयात्राले रुकुम पूर्वका मुद्धाहरु राष्ट्रिय तहमा उजागर गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’
