


देवघाट, २४ पुस । पवित्र धार्मिक स्थल देवघाटधाममा रहेको झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको छ। देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य थालिएको हो।
झोलुङ्गे पुलको मर्मत, रङरोगन तथा सरसफाइको जिम्मा आर.ए.यस. फाउन्डेसन, काठमाडौंले लिएको छ। फाउन्डेसनका सञ्चालक किशोर लोका अनुसार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ लाख रुपैयाँको लागतमा पुल मर्मतको काम सुरु गरिएको हो।
योजनाअन्तर्गत ५६ वटा नयाँ डेक फेर्ने, सस्पेन्सर कस्ने, नट–बोल्ट मजबुत बनाउने, पुलको रङरोगन गर्ने तथा सरसफाइ गरिनेछ। मर्मत कार्य ३–४ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको फाउन्डेसनले जनाएको छ।
कालीगण्डकी र त्रिशूली नदीको संगम वेणीमा अवस्थित देवघाटधाममा माघे सङ्क्रान्ति लगायतका अवसरमा देश–विदेशबाट लाखौं भक्तजन स्नान गर्न आउने गर्दछन्। ती भक्तजनहरू यसै झोलुङ्गे पुल हुँदै आवतजावत गर्ने भएकाले मेला–पर्वका समयमा कुनै जोखिम वा दुर्घटना नहोस् भन्ने उद्देश्यले समयमै पुल मर्मत थालिएको बताइएको छ।
