


दमौली, २६ पुस । शनिबारको बिहान थियो। समय करिब साढे ९ बज्दै थियो। शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो— “दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन्।”
खबर दिने व्यक्ति थिए, निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारी। दैनिक काममा लागेका ती कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जब प्रहरी घटनास्थल पुग्यो, दृश्य सामान्य थिएन—दुवै पुरुष धारिलो हतियारबाट निर्ममतापूर्वक प्रहार गरिएको अवस्थामा मृत भेटिएका थिए।
प्रहरीले प्रारम्भिक सोधखोज गर्दा एउटा पीडादायी सत्य बाहिर आयो। मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरेर फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन्, शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक।
तीन महिनाअघि काम सुरु गरेका नारायण यो महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गर्दै आएका थिए।
अर्का मृतक पुरुष भने पहिचानविहीन थिए। उनी प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका थिए। उनको नाम, ठेगाना कसैले भन्न सकेन। तर एउटा कुरा सबैलाई थाहा थियो—उनी एक जना महिलासँग सँगै बस्दै आएका थिए।
जब दुई जनाको शव फेला पर्यो र टहरमा बस्ने महिला एकाएक गायब भइन्, शंका गहिरिँदै गयो। प्रहरी र स्थानीयले आसपास खोजी थाले। खोजी जारी नै थियो, करिब दिउँसो १२ बजेको आसपास अर्को हृदयविदारक खबर आयो— ती महिला पनि मृत अवस्थामा भेटिइन्।
दुई पुरुषको शव भेटिएको स्थानबाट झण्डै ७ सय मिटर पर, जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जंगलभित्र महिलाको शव भेटियो। उनको पनि पहिचान खुल्न सकेको छैन । पहिचान नखुलेका ती महिला र पुरुष दुवै टहरामै बस्दै आएका थिए। बजार क्षेत्रबाट संकलन गरिएको फोहोरमैलाबाट कवाडी छान्ने काम गरेर जीवन गुजारा गर्दै आएका उनीहरू झण्डै एक वर्षदेखि त्यहीँ बस्दै आएको स्थानीयहरू बताउँछन्।
घटनास्थल देखेका शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा भन्छन्, “तीनै जनाको शव विभत्स अवस्थामा थियो।”
उनका अनुसार नारायण विकको पेटमा गम्भीर चोट थियो, टाउकोमा पनि चोट देखिन्थ्यो। पहिचान नखुलेका पुरुषको पेटमा यति गहिरो प्रहार गरिएको थियो कि आन्द्रा नै बाहिर निस्किएको अवस्था थियो। महिलाको शव भने घाँटी रेटिएको अवस्थामा फेला परेको थियो।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठ का अनुसार हालसम्म दुई जनाको पहिचान खुल्न सकेको छैन। घटनाको प्रकृति अत्यन्तै शंकास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्की स्वयं टोलीसहित दिनभर घटनास्थलमै खटिएका छन्। गण्डकी प्रदेशको प्राविधिक टोली, तालिम प्राप्त कुकुरसहित अनुसन्धान तीव्र पारिएको छ।
