‘भोलिको नेतृत्व गगन-विश्वप्रकाशले गर्ने हो भन्ने विश्वास देश–विदेशमा रहेका हरेक नेपालीको मनमा छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘भोलिको नेतृत्व गगन-विश्वप्रकाशले गर्ने हो भन्ने विश्वास देश–विदेशमा रहेका हरेक नेपालीको मनमा छ’

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८२, शनिबार

    दमौली, २६ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि चिरञ्जीवी अधिकारीले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई खुला पत्र लेख्दै उनीहरूमाथि देशभरका सच्चा कांग्रेसजनको आशा र भरोसा केन्द्रित भएको बताएका छन्।

    खुला पत्रमा अधिकारीले थापा र शर्माले देखाएको अथक मेहनत, स्पष्ट वैचारिक दृष्टिकोण तथा पार्टीलाई विधानसम्मत ढंगले अघि बढाउनुपर्छ भन्ने दृढ अडानकै कारण व्यापक समर्थन प्राप्त भएको उल्लेख गरेका छन्। अनेक अवरोध र चुनौतीका बीच पनि प्राप्त यो समर्थन नेपाली राजनीतिक इतिहासमै विरलै देखिने विषय भएको उनको भनाइ छ। उनले हिजोभन्दा आज र आजभन्दा भोलि समर्थन अझै बढ्दै जाने क्रम जारी रहेको बताएका छन्।

    यस्तो संवेदनशील र निर्णायक घडीमा सच्चा कांग्रेसजनले व्यक्त गरेको अटुट माया र विश्वासलाई कसरी सदुपयोग गरिन्छ भन्ने विषय सबैले गम्भीर चासोका साथ हेरिरहेको अधिकारीको पत्रमा उल्लेख छ। उनले गगन–विश्वप्रकाश आज केवल पार्टी नेतृत्वसँग मात्र नभई सिंगो देशको भविष्यसँग जोडिएको नेतृत्व भएको धारणा राखेका छन्।

    खुला पत्रमार्फत अधिकारीले नेपाली कांग्रेसलाई विभाजनतर्फ लैजानुभन्दा पनि विगतमा विभिन्न कारणले पार्टीबाट अलग भएका ‘दाइ कांग्रेस’ र ‘भाउजू कांग्रेस’ भनेर चिनिन थालेका समूहसमेतलाई पुनः पार्टीभित्र समेट्नुपर्ने आवश्यकता औँल्याएका छन्। सम्भव भएसम्म सबै पक्षलाई समेटेर महाधिवेशनलाई सर्वसम्मत ढंगले अगाडि बढाउनु समयसापेक्ष र दूरदर्शी कदम हुने उनको सुझाव छ।

    यदि त्यो अवस्था तत्काल सम्भव नभए कहिलेकाहीँ एक कदम पछि हटेर दुई कदम अगाडि बढ्नु पनि रणनीतिक रूपमा आवश्यक हुने अधिकारीको भनाइ छ। उनले अहिले बनेको सकारात्मक र बलियो माहोललाई जोगाउँदै त्यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। साथै पार्टीको आगामी नीति र देशको भावी कार्यदिशा स्पष्ट रूपमा तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    विशेषगरी युवा पुस्ताका चाहना, अपेक्षा र आकांक्षालाई केन्द्रमा राख्दै “हामी देशलाई यस्तो र यसरी अगाडि बढाउँछौं” भन्ने स्पष्ट र दृढ नीति सार्वजनिक रूपमा स्थापित गर्नुपर्ने अधिकारीले उल्लेख गरेका छन्।

    खुला पत्रको अन्त्यमा अधिकारीले भोलिको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माले नै गर्ने विश्वास देश–विदेशमा रहेका हरेक नेपालीको मनमा रहेको उल्लेख गर्दै, उनीहरूको आशा र अपेक्षालाई सम्बोधन गर्ने दीर्घकालीन नीति निर्माणका लागि यस महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा उपयोग हुने विश्वास व्यक्त गरेका छन् ।