


दमौली, २८ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । गत शनिबार मृत अवस्थामा भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको र परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागर बस्ने ५८ वर्षीया देउमाया थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । विकको शनिबार र थापाको आज सनाखत भएको उनले बताए । दुवैको शव परीक्षणपश्चात् आफन्तले बुझेका छन् ।
तीन जनाको नै हत्या भएको प्रहरीको आशङ्का छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ विकले जानकारी दिए ।
