


दमौली, ३० फागुन । तनहुँ–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार केदार सिग्देलले निर्वाचन कार्यालयमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका छन्। बुझाइएको विवरण अनुसार उनले निर्वाचन प्रचारप्रसारका विभिन्न शीर्षकमा कुल रु १० लाख ९७ हजार २८० खर्च गरेको उल्लेख छ।
पेश गरिएको विवरणमा सवारी साधन प्रयोगमा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गरी रु ३ लाख खर्च गरिएको छ। त्यस्तै दैनिक भ्रमणका क्रममा खाना तथा खाजामा रु २ लाख ३४ हजार ८० खर्च भएको जनाइएको छ।
प्रचार सामग्री अन्तर्गत प्रतिबद्धता पत्र छपाइमा रु ३ लाख ९० हजार खर्च गरिएको छ भने ब्यानर, कार्ड तथा स्टिकर छपाइमा रु १ लाख ९२ हजार २०० खर्च भएको उल्लेख छ। साथै झण्डा निर्माण तथा वितरणमा रु ९५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
कार्यालय सञ्चालनका लागि स्टेशनरी सामग्रीमा रु १८ हजार तथा डिजाइन, फोटोकपी र टाइपिङजस्ता अन्य प्रचार कार्यमा रु १५ हजार खर्च भएको बताइएको छ।
उक्त खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा निर्वाचन आचारसंहिता बमोजिम तयार गरी पेश गरिएको कागजातमा उल्लेख छ। खर्चको भुक्तानी राष्ट्रिय वाणिज्य बैंक डुम्रे शाखामा रहेको खातामार्फत गरिएको जनाइएको छ।
