


दुलेगौंडा, १२ चैत । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता बढ्दै गएको छ । विहिवार चैते दशै परेकाले दर्शकहरुको बाक्लो उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा विहिवार कलाकार कुमार पुन, अस्मिता अधिकारी, शुभद्रा श्रेष्ठ, दिपेन्द्र केसी, मञ्जु विक लगायतले दर्शक नचाए । महोत्सवमा शुक्रवार चर्चित गायिका समिक्षा अधिकारीसँगै, शिला आले, सलिना नेपाल, गायक बालचन्द्र बराल, शंकर सुनार र हास्य कलाकार सुरज भिरखोइरेको प्रस्तुती रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।
आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको प्रचार प्रसार उपसमिति संयोजक बालकृष्ण विकल जानकारी दिए ।
साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । पालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रवार विहानबाट शुरु हुने छ ।
महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।