


दमौली, १ वैशाख । नगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नगरको समग्र विकासलाई नयाँ चरणमा पु¥याउन ठूला र दीर्घकालीन परियोजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । हालसम्मका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ व्यवस्थित, योजनाबद्ध र दिगो विकासतर्फ उन्मुख हुनुपर्नेमा वक्ताहरुको जोड छ ।
स्थापना दिवसको अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले स्थानीय तहले अब साना तथा टुक्रे योजनाभन्दा माथि उठेर ठूला पूर्वाधार र रूपान्तरणकारी परियोजनामा ध्यान दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले नगरपालिकाले पछिल्लो अवधिमा सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । तर, जनताका आकाङ्क्षा र आवश्यकताअनुसार अझै धेरै कामहरू बाँकी रहेको उल्लेख गर्दै उनले विकासको गति थप प्रभावकारी बनाउन समन्वय, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको धारणा राखे ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले व्यास नगरपालिकाले विकासका आधारहरू तयार गरिसकेको उल्लेख गर्दै अब दोस्रो चरणको विकासतर्फ अघि बढ्नुपर्ने बताए । “व्यासमा आधारभूत कामहरू भइसकेका छन्, अब रूपान्तरणकारी र ठूला परियोजनाहरू सञ्चालन गर्नुपर्ने बेला आएको छ,” उनले भने ।
व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले स्थापनाकालदेखि नै नगरपालिकाले उल्लेखनीय कामहरू गर्दै आएको बताए । उनले विगतका उपलब्धिहरूलाई नजरअन्दाज गर्दै नभएका कामको मात्र आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले सीमित स्रोत, साधन र बजेटका बाबजुद जनताका असीमित आकाङ्क्षालाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।
कार्यक्रममा कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने १४ वटै वडाका शिक्षक, विद्यार्थी, उत्कृष्ट कृषक, कर्मचारी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।