प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले तनहुँको आपत्ति, माफी माग्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले तनहुँको आपत्ति, माफी माग्न माग

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८३, सोमबार

    दमौली, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी तनहुँले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीबाट ऐतिहासिक यथार्थ, तथ्य तथा प्रमाणविपरीत अभिव्यक्ति आएको आरोप लगाएको छ।

    विज्ञप्तिमा राष्ट्रको भूमि, सीमा र स्वाधीनतासम्बन्धी विषय कुनै एक दल, सरकार वा व्यक्तिको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा सरोकार रहेको उल्लेख गरिएको छ। यस्ता विषयमा संसदको रोष्ट्रमबाट दिइएको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय मान्यता, कूटनीतिक दाबी तथा राष्ट्रिय एकतालाई कमजोर बनाएको एमाले तनहुँको ठहर छ।

    एमाले तनहुँले उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार तथा खेदजनक भन्दै घोर निन्दा र भर्त्सना गरेको छ। साथै, प्रधानमन्त्रीले संसदमार्फत आफ्नो अभिव्यक्ति फिर्ता लिँदै नेपाली जनतासमक्ष माफी माग्नुपर्ने माग गरेको छ।

    जिल्ला अध्यक्ष हरिराज कडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय हित र स्वाभिमानको विषयमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।