


दमौली, २० जेठ । व्यास नगरपालिका–५ र ६ लाई जिल्ला सदरमुकाम दमौलीसँग जोड्ने महेन्द्री मार्ग निर्माणका लागि संघ सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको छ।
त्यसैगरी व्यास नगरपालिका–११ को बेलटारीबाट भानु नगरपालिका–६ मान्द्रे हुँदै भगवतीपानी मन्दिरसम्म जोड्ने सडक निर्माणका लागि केन्द्र सरकारबाट १० करोड रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सभापति विश्व बास्तोलाले बजेट विनियोजन सम्बन्धी जानकारी सार्वजनिक गर्दै रातो किताब प्रकाशन भइनसकेको कारण जिल्लाका विभिन्न योजनाहरूमा परेको बजेटको विस्तृत विवरण क्रमशः सार्वजनिक हुँदै जाने बताए।
उनका अनुसार घुमाउनेघाटको पक्की पुल तथा बुद्धसिंह मार्ग निर्माणका लागि बजेट परेको वा नपरेको विषयमा सामाजिक सञ्जालमा व्यापक चासो देखिए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ती योजनामा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिसकेकोले निर्माण कार्य अगाडि बढ्नेमा आफूहरू विश्वस्त रहेका छन्।
“यो वर्षको वर्षायामपछि घुमाउनेघाट पुल निर्माण कार्यले थप गति लिने अपेक्षा गरेका छौँ,” बास्तोलाले भने, “अर्थमन्त्री स्वयं तनहुँ जिल्लाका प्रतिनिधि भएकाले विनियोजित बजेटको निकासा तथा कार्यान्वयनप्रति शंका गर्नुपर्ने अवस्था छैन।”