


दमौली, १ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले आइतबार सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्लाभर लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग रोकथामका लागि विशेष सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जिल्लामा शान्तिसुरक्षा सुदृढ बनाउन र विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न नियमित रूपमा यस्ता अभियान सञ्चालन भइरहेको बताए। उनले नियन्त्रणमा लिइएका ११ जनामध्ये आवश्यक सोधपुछपछि अधिकांशलाई छाडिएको र दुई जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।
“जिल्लामा हुने आपराधिक गतिविधि, लागुऔषध कारोबार, अवैध मदिरा तथा अन्य गैरकानुनी कार्य नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा निगरानी र विशेष अभियान सञ्चालन गरिरहेको छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “शंकास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिमाथि आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।”
प्रहरीले जिल्लामा शान्तिसुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता अपरेसन आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने जनाएको छ।