


दमौली, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका संस्थापक सभापति विकास सिग्देलले पार्टीको महाधिवेशनमा गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सिग्देलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी आकांक्षा सार्वजनिक गर्दै पार्टी र विचारको यात्रामा निरन्तर समर्पित रहेको बताएका छन्। उनले २०७९ को प्रतिनिधिसभा सदस्य उम्मेदवारदेखि तनहुँ जिल्लाको संस्थापक सभापतिको जिम्मेवारीसम्म कुनै व्यक्तिगत आकांक्षा नराखी दिनरात पार्टी संगठन निर्माण र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

“आज फेरि त्यही समर्पण, अनुभव र जिम्मेवारीबोधका साथ गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी आकांक्षा सार्वजनिक गरेको छु,” उनले भनेका छन्।
सिग्देलले सुदृढ संगठन, सक्षम नेतृत्व र समुन्नत नेपालको यात्रालाई थप मजबुत बनाउन आफूले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग साथ, विश्वास र समर्थनको अपेक्षा गरेका छन्।