भिमादमा ‘६८ करोड कप’ भलिबल प्रतियोगिता हुँदै, विजेताले पाउनेछ रु १ लाख ११ हजार ६८
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भिमादमा ‘६८ करोड कप’ भलिबल प्रतियोगिता हुँदै, विजेताले पाउनेछ रु १ लाख ११ हजार ६८

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८३, मंगलवार

    दमाैली ९ असार । तनहुँको भिमाद बजारमा आगामी असार १७ गतेदेखि २० गतेसम्म ‘६८ करोड कप’ खुला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। पिरुङ स्पोर्टस् क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

    प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवश आलेले नेपालभरका क्लबहरूलाई सहभागिताका लागि खुला गरिएको बताए । उनका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट उत्कृष्ट क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    अध्यक्ष आलेले भलिबल नेपालको राष्ट्रिय खेलका रूपमा लोकप्रिय बन्दै गएको अवस्थामा स्थानीय स्तरमा खेलाडी उत्पादन, प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। “भिमादलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने, “प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।”

    प्रतियोगितामा विजेता टोलीलाई नगद रु १ लाख ११ हजार ६८, उपविजेता टोलीलाई रु ७७ हजार ६८, तृतीय हुने टोलीलाई रु ४४ हजार ६८ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीलाई रु २२ हजार ६८ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

    खेल संयोजक सुनिल थापा का अनुसार प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन व्यक्तिगत विधातर्फ पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार ६८ नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेन्टर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु ३ हजार ६८ नगद पुरस्कारसहित सम्मान गरिनेछ।

    संयोजक थापाले प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बढीमा तीन जना राष्ट्रिय स्तरका खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए। यस व्यवस्थाले प्रतियोगिताको स्तर उकास्नुका साथै स्थानीय खेलाडीलाई अनुभवी र राष्ट्रियस्तरका खेलाडीसँग खेल्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

    उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य भिमाद क्षेत्रमा भलिबल खेलको विकास, नयाँ प्रतिभाको खोजी तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नु हो। साथै खेलप्रेमी दर्शकलाई उच्चस्तरीय र रोमाञ्चक प्रतिस्पर्धाको अनुभूति दिलाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।