


दमौली, १० असार । व्यास नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, युवा तथा खेलकुद, भाषा–संस्कृति र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको बुधबार आयोजित ४५ औं नगरसभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, युवाको क्षमता विकास, सांस्कृतिक संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिइएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रतर्फ “मल, बीउ, पानी–कृषिमा लगानी” भन्ने नारासहित सहज रूपमा बीउबिजन, मलखाद तथा सिँचाइ सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ । रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण, कृषि चुन, जैविक विषादी तथा प्राङ्गारिक मल प्रयोगसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख न्यौपानेले बताए ।
नगरपालिकाले कृषकहरूको डिजिटल तथ्याङ्क सङ्कलन गरी किसान परिचयपत्र वितरण गर्ने, पशुहरूको पूर्णखोप कार्यक्रम सञ्चालन गर्ने तथा दूध र मासु उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । “गोठ–गोठमा भेटेरिनरी र खेत–खेतमा कृषि” कार्यक्रममार्फत प्राविधिक सेवा विस्तार, गर्भ परीक्षण, पशु स्वास्थ्य परीक्षण, औषधि वितरण तथा बाली रोग निदान सेवा उपलब्ध गराइने न्यौपानेले बताए ।
कृषि बीमा, कृषि यान्त्रीकरण, कृषि हाटबजार सञ्चालन तथा उत्पादन र बजारीकरणमा आधारित प्रोत्साहन कार्यक्रमलाई पनि निरन्तरता दिइने बताउँदै न्यौपानेलेस्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै “नगरमै खपत, नगरमै बचत” अभियान सञ्चालन गरिने र विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन प्रयोगलाई प्राथमिकता दिइने बताए ।
पर्यटन क्षेत्रतर्फ व्यास नगर भ्रमण वर्ष २०८४ को अवधारणा अघि सार्दै पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ । पार्क, भ्यूप्वाइन्ट, होमस्टे, वनभोज स्थल, सङ्ग्रहालय, पोखरी तथा पर्यटक विश्रामस्थल निर्माण गरी धार्मिक, सांस्कृतिक, कृषि तथा खेल पर्यटनको विकासमा जोड दिइने न्यौपानेले बताए ।
व्यास पराशर क्षेत्रको धार्मिक पर्यटन विकासका लागि व्यासको मूर्ति निर्माण तथा योग–प्रवचन भवन स्थापना गरिने बताउँदै उहाँले मादी नदीको बहुउद्देश्यीय विकासका लागि तयार गरिएको “मादी नदी एकीकृत विकास परियोजना” लाई अगाडि बढाइने न्यौपानेले उल्लेख गरे ।
युवा तथा खेलकुदतर्फ “नगर प्रमुखसँग युवा कार्यक्रम” लाई थप प्रभावकारी बनाउँदै युवा लक्षित सीप, नेतृत्व विकास, नवप्रवर्तन र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने न्यौपानेले बताए ।
मेयर कप फुटबल, उपमेयर कप छात्रा भलिबल, अन्तर वडा भलिबल तथा खुला ब्याड्मिन्टन प्रतियोगितालाई निरन्तरता दिइने बताउँदै उनले विद्यालयस्तरमा खेलकुद प्रशिक्षकको व्यवस्था गरी खेल प्रतिभाको विकास गरिने बताए ।
भाषा, साहित्य, कला तथा संस्कृतितर्फ महर्षि वेदव्याससँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र प्रचारप्रसारलाई प्राथमिकता दिइएको उनले बताए । व्यासभूमिको इतिहास, संस्कृति र सभ्यताको दस्तावेजीकरण तथा प्रकाशन गरिनेछ भने राष्ट्रियस्तरका साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी व्यास नगरलाई साहित्यिक तथा सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनकाे भनाइ छ ।
स्थानीय भाषा, मातृभाषा, लोकसाहित्य, लोकगीत, लोकनृत्य तथा मौलिक सांस्कृतिक पहिचानको संरक्षण र पुस्तान्तरणका लागि अध्ययन, अनुसन्धान, अभिलेखीकरण तथा प्रकाशन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रतर्फ नसर्ने रोगको स्क्रिनिङ तथा उपचार, मानसिक स्वास्थ्य सेवा विस्तार र समुदायस्तरमा मनोपरामर्श सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
प्रदेश सरकारसँगको सहकार्यमा योग, ध्यान, आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताउँदै न्यौपानेले व्यास–१० दुम्सीबजारस्थित व्यास नगर अस्पतालमा सुत्केरी सेवा विस्तार गरिने जानकारी दिए ।
नगरपालिकाले “स्वास्थ्य सेवा, नगरवासीलाई टेवा” भन्ने नाराका साथ सबै वडामा रहेका स्वास्थ्य संस्था तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको सेवा प्रभावकारी बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
नगर प्रमुख न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, पर्यटन विकास, युवाको सशक्तीकरण, सांस्कृतिक संरक्षण तथा स्वास्थ्य सेवा विस्तारमार्फत समृद्ध, स्वस्थ र आत्मनिर्भर व्यास नगर निर्माण गर्ने लक्ष्य लिएको छ ।