


दमौली, १३ असार । तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज हङकङले जिल्लाका मिर्गौला तथा क्यान्सरबाट पीडित बिरामीलाई रु पाँच लाख ७६ हजार आर्थिक सहयोग गरेको हो ।
बन्दीपुर गाउँपालिका–४ निवासी दुवै मिर्गौला फेल भएका सुकबहादुर गुरुङ, ऋषिङ गाउँपालिका–८ का सोमबहादुर नेपाली र क्यान्सर पीडित सोही वडाका दुर्गबहादुर थापालाई शुक्रबार यहाँ आयोजित कार्यक्रममा जनही रु एक लाख ९२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
समाजका अध्यक्ष कर्णबहादुर नेपाली, पूर्व अध्यक्ष भिमराज गुरुङ, जङ्गबहादुर थापाले पीडितका आफन्तलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
समाजले विसं २०५६ सालदेखि जिल्लामा विविध क्षेत्रमा सहयोग गरिरहेको छ । समाजले जिल्लामा रु एक करोड भन्दा बढि सहयोग गरिसकेको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिए ।
समाजले जिल्लामा भूकम्पपछिको पुर्ननिर्माण, बाढीपहिरा जस्ता दैवि प्रकोपबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार विकास तथा पत्रकारिता प्रबद्र्धनमा सहयोग गर्दै आएको छ ।