


दमौली, १३ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको युपि १३ए०७७७० नम्बरको भारतीय नम्बरको गाडीले शुक्रबार ठक्कर दिँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६/७ वर्षीया सायना थापा र ६/७ वर्षीय उलियम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । कारको ठक्करबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो । त्यहाँबाट प्राथमिक उपचार पश्चात् चितवन पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
ती बालबालिका विद्यालयबाट फर्किदै गर्दा कारले ठक्कर दिएको थियो । सडकछेउ हिँडिरहेका बालबालिकालाई तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो ।