डिभिजन वन कार्यालय तनहुँले असार १६ गतेदेखि बिरुवा वितरण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिभिजन वन कार्यालय तनहुँले असार १६ गतेदेखि बिरुवा वितरण गर्ने

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८३, सोमबार

    दमौली, १५ असार । डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले मङ्गलबारदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट २८ प्रकारका बिरुवा वितरण गर्न लागेको हो ।

    वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्धेश्यले निःशुल्क बिरुवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

    वर्षायाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, सङ्घसंस्था तथा स्थानीय तहलाई बिरुवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

    उनका अनुसार निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोईरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शितलचिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धूपी, गुलमोहर, विरिस्फूल, पारिजात, चाँप, बयर, बेल, पिपल, बर, राजवृक्ष र नौरङ्गे लगायत २८ प्रजातिका बिरुवा वितरण गरिनेछ ।

    उनका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, वन विनाश, भूक्षय तथा वातावरणीय असन्तुलनका चुनौती बढ्दै गएका छन् । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि वृक्षारोपण सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो ।

    “वन क्षेत्र संरक्षण मात्र पर्याप्त हुँदैन, खुला तथा खाली जमिनमा समेत वृक्षारोपण आवश्यक छ,” श्रेष्ठले भने, “हामीले वितरण गर्ने बिरुवालाई सही तरिकाले रोपेर संरक्षण गर्न सकियो भने यसले वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पु¥याउँछ ।”

    उनले वितरण गरिने बिरुवामध्ये केही प्रजाति फलफूल, केही औषधीय तथा केही छायाँ र वातावरणीय महत्वका रहेको जानकारी दिए । स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार बिरुवा छनोट गरेर रोप्न आग्रह गर्दै श्रेष्ठले बिरुवा रोपिसकेपछि त्यसको संरक्षणलाई विशेष ध्यान दिनुपर्ने बताए ।

    श्रेष्ठका अनुसार वर्षेनी हजारौं बिरुवा उत्पादन गरी वितरण गरिए पनि संरक्षण अभावमा धेरै बिरुवा नष्ट हुने समस्या रहेको छ । “बिरुवा लगाउनु मात्र पर्याप्त हुँदैन, त्यसको नियमित हेरचाह, घेराबार र संरक्षण आवश्यक हुन्छ,” उनले भने, “रोपिएको बिरुवा हुर्किएर रुख बनेपछि मात्र वृक्षारोपण अभियानको वास्तविक उपलब्धि प्राप्त हुन्छ ।”

    श्रेष्ठले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, पहिरो तथा खडेरीका समस्या बढ्दै गएको उल्लेख गर्दै वन तथा वृक्षारोपण कार्यक्रमले यस्ता प्रभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    “एक व्यक्तिले एक बिरुवा रोपेर त्यसलाई संरक्षण गर्न सक्यो भने वातावरण जोगाउने अभियानमा ठूलो योगदान पुग्छ,” उनले भने, “हरियाली विस्तारले स्वच्छ हावा, स्वच्छ वातावरण र स्वस्थ जीवन सुनिश्चित गर्न मद्धत गर्छ ।”