


दमौली, १६ असार । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले निर्वाचनका क्रममा गरेको प्रतिबद्धताअनुसार प्रत्येक तीन महिनामा सञ्चालन गरिने ‘जनसंवाद’ कार्यक्रमको दोस्रो चरण सुरु हुने जानकारी दिएका छन्।
न्यौपानेका अनुसार कार्यक्रममार्फत निर्वाचन क्षेत्रका नागरिकका समस्या, आवश्यकता र सुझाव प्रत्यक्ष रूपमा संकलन गरिनेछ भने विगत तीन महिनामा भएका विकास निर्माण तथा सरकारी कार्यहरूको प्रगति विवरण पनि सार्वजनिक गरिनेछ। प्राप्त सुझावका आधारमा खानेपानी, सडक, सिँचाइ, स्वास्थ्य, भूमि, शिक्षा लगायतका आधारभूत विषयमा आवश्यक समन्वय र पहल गरिने उनले बताए।
दोस्रो चरणअन्तर्गत पहिलो कार्यक्रम घिरिङ र रिसिङ गाउँपालिकाको टार क्षेत्रमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुनेछ। अन्य पालिकाका कार्यक्रमको विस्तृत तालिका भने सम्बन्धित कार्यक्रम हुनुभन्दा सात दिनअघि सार्वजनिक गरिने जनाइएको छ।
यसै अवसरमा सांसद न्यौपानेले आफ्नो व्यक्तिगत खर्च र पहलमा दीपक माध्यमिक विद्यालय, बैँदीको कक्षा १० का लागि एक थान तथा कृष्ण माध्यमिक विद्यालय, पुट्टारका लागि एक थान गरी दुई वटा एआई फिचरयुक्त डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण, जडान तथा शिक्षकलाई आवश्यक तालिम प्रदान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिएका छन्।
सांसद न्यौपानेले ‘जनसंवाद’ कार्यक्रम जनप्रतिनिधि र जनताबीच विश्वास, जवाफदेहिता तथा सहकार्यलाई सुदृढ बनाउने साझा मञ्च भएको उल्लेख गर्दै जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, युवा, आमा समूह तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।