भानु जयन्ती : भजनमय बन्यो रचनावाचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु जयन्ती : भजनमय बन्यो रचनावाचन

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८३, आईतवार

    दमौली, २८ असार । गण्डकी वाङमय प्रतिष्ठान तनहुँले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा दमौलीमा आयोजना गरेको रचना वाचन कार्यक्रम यसपटक भजनमय बनेको छ।

    व्यास–३ स्थित व्यास ज्योति धर्मजागरण भजन कीर्तन समूहका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले र व्यास ५ स्थित तीजप्रसाद लामिछानेको नेतृत्वमा आएको टोलीले भजनमार्फत प्रस्तुत गरिएको भानुभक्तको संघर्षगाथाले दमौलीमा जन्मजयन्ती समारोहलाई सामान्य औपचारिकताभन्दा फरक साहित्यिक र सांगीतिक उत्सवका रूपमा रूपान्तरण गरेको देखिन्थ्यो।

    राजकुमार श्रेष्ठको टोलीले भजनमार्फत प्रस्तुत गरिएको भानुभक्तको संघर्षगाथाले दमौलीमा जन्मजयन्ती समारोहलाई सामान्य औपचारिकताभन्दा फरक साहित्यिक र सांगीतिक उत्सवका रूपमा रूपान्तरण गरेको देखिन्थ्यो।

    आदिकविको जीवनका दुःख, संघर्ष र जेल जीवनका पीडालाई भजनमार्फत प्रस्तुत गर्दा कार्यक्रम स्थल भावुक बनेको थियो। मादल, झ्याली र हार्मोनियमको तालमा गुन्जिएको भजनले उपस्थित साहित्यप्रेमीलाई भानुभक्तको जीवनयात्रामा डोर्‍याएको अनुभूति गराएको थियो। समूहले प्रस्तुत गरेको काव्यिक भजनमा भानुभक्तले नेपाली भाषाका लागि गरेको त्याग, तत्कालीन समाजका चुनौती र सिर्जनात्मक संघर्षलाई सजीव रूपमा चित्रण गरिएको थियो।

    त्यसैगरी तेजप्रसाद लामिछानेको समूहले भानुभक्तको बाल्यकाल, पारिवारिक पृष्ठभूमि तथा हजुरबुबाको सामीप्यमा पाएको शिक्षादीक्षालाई काव्यिक शैलीमा प्रस्तुत गरेको थियो। प्रस्तुतीमा भानुभक्तको व्यक्तित्व निर्माणमा पारिवारिक वातावरणले खेलेको भूमिकालाई विशेष रूपमा चित्रण गरिएको थियो।‌

    कार्यक्रममा सहभागीहरूले भजन केवल धार्मिक अभिव्यक्ति नभई साहित्यिक चेतना जगाउने माध्यम पनि भएको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रमका प्रमुख अतिथि एवं व्यासका अद्धेता तथा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति साहित्यकार काशीनाथ न्यौपानेले भानुभक्तले वाल्मीकि रामायण नभई वेदव्यासद्वारा रचित ‘अध्यात्म रामायण’ को भावानुवाद गरी नेपालीमा रामायण लेखेको उल्लेख गरे । उनले भानुभक्तले नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुर्‍याएर राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको न्यौपानेको भनाइ थियो।

    गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष गौकुमारी न्यौपानेले भानुभक्तको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले हरेक वर्ष सिर्जनात्मक कार्यक्रम गर्दै आएको बताएकी थिइन्। वाङमयले गर्दै आएको कार्यक्रमबाट साहित्यिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उनको दाबी थियो।

    कार्यक्रममा गीतकार सागर उदास, साहित्यकारहरू शान्ता बास्तोला, नारायणी अधिकारी, अञ्जु दाहाल, रमा वाग्ले, विरू गणेश उपरकोटी, शुभ पिया, बाबुराम सापकोटा, मधुमाया घिमिरे, फुच्चे साथी, प्रदीप घिमिरे, रामकुमार श्रेष्ठ (फुच्चे), अवानी काफ्ले, शोभा न्यौपाने, रूपा घिमिरे र मैयाँ थापालगायतले आदिकवि भानुभक्त र भानुभक्तको साहित्यिक योगदानसँग सम्बन्धित सिर्जना वाचन गरेका थिए ।