


दमौली, १ साउन । तनहुँ प्रहरीले मुग्लिङ–पोखरा सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आषाढ महिनाभर सञ्चालन गरेको चालक सचेतना अभियान प्रभावकारी बनेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा हरेक बिहान ४ बजेदेखि सञ्चालन गरेको अभियानअन्तर्गत ९३ स्थानमा चालकहरूलाई सडक तथा मौसमको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालनाबारे सचेतना प्रदान गरिएको थियो।
अभियानका क्रममा १ हजार ९२१ वटा दुईपाङ्ग्रे, १ हजार ३७१ वटा साना चारपाङ्ग्रे र १ हजार ३१५ वटा ठूला सवारीसाधन गरी कुल ४ हजार ६०७ सवारीसाधनका चालकलाई सचेतना दिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले चालक सचेतना अभियानका कारण मुग्लिङ–पोखरा सडक खण्डमा हुने सवारी दुर्घटनामा उल्लेखनीय कमी आएको बताए। उनले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना, लेन अनुशासन कायम राख्न र सडक तथा मौसमको अवस्थाअनुसार सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरे ।