


दमाैली, १ साउन । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको पुलमा तीन सय दिन म्याद थप भएको छ । असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहेपनि काम नसकिएपछि तीन सय दिन म्याद थप गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम ८६ प्रतिशत सकिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार केही दिन अगाडी म्याद थपको सिफारिस गरिएकामा पूर्वाधार विकास मन्त्रालयले म्याद थपको स्वीकृती आइसकेको छ । उनका अनुसार विसं २०८४ वैशाख १६ गतेसम्म म्याद थप भएको छ ।
पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते अन्नक जेडआइष्टी जेभीसँग सम्झौता भएको थियो । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ ।
रु एक अर्ब २१ करोड भ्याट सहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।