


दमौली, ६ साउन । तनहुँ जिल्लामा मुख्य राजमार्गमा सवारी दुर्घटना रोक्न गरिएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रभावकारी देखिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पछिल्लो २४ घण्टामा पोखरा–मुग्लिङ सडकखण्ड (पृथ्वीराजमार्ग) मा एक पनि सवारी दुर्घटना भएको छैन।
यद्यपि, सोही अवधिमा जिल्लाका विभिन्न भित्री सडकखण्डमा २ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा कुल १८ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, १ जनाको मध्यम र १६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उपचारपछि सबै घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्।
दुर्घटनाका कारण ३ वटा सवारी साधनमा क्षति पुगेको छ, जसमा २ वटा बस र १ वटा मोटरसाइकल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँले मुख्य राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, नियमित गस्ती तथा निगरानीलाई निरन्तरता दिइएको जनाएको छ। साथै भित्री सडकमा पनि सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन, गति नियन्त्रणमा राख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालकसँग आग्रह गरेको छ।